ताजा खबर

रायोको सागमा भेटिन थाल्यो अत्यधिक विषादी

1 year ago

645 views

रायोको सागमा भेटिन थाल्यो अत्यधिक विषादी

पछिल्लो समय बजारमा रायोको सागमा विषादीको मात्रा बढी देखिन थालेको छ।करिब दुई सातादेखि रायोको सागमा विषादीको मात्रा अत्यधिक देखिएको केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमल्सिनाले जानकारी दिए। '१०/१२ दिन भयो रायोको सागमा विषादीको मात्रा बढी देखिरहेको छ उनले भने । बढी मात्रामा विषादी देखिन थालेपछि रायोको सागको नमूना पनि बढी लिने गरिएको उनले जानकारी दिए। उनका अुनसार बुधबार परीक्षणका लागि १४ वटा नमूना लिइएकोमा ४ वटामा विषादीको मात्रा बढी देखिएको थियो।

 

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ। '९० प्रतिशतभन्दा बढी विषादी भनेर समाचार आएको देख्छौं,' उनले भने, 'यसलाई त्यसरी व्याख्या गर्न मिल्दैन।' विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ।

 

अहिले प्रयोगशालाले उत्पादन क्षेत्रमै गएर विषादी जाँच गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।'विषादी किसानले हाल्ने हुन्। त्यो भएर उत्पादन क्षेत्रमै पुग्ने हाम्रो तयारी छ,' उनले भने, 'सकेसम्म माघ पहिलो सातादेखि नै जान्छौं।'

 

उनका अनुसार काठमाडौं, भक्तपुर लगायतका क्षेत्रबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा बढी भेटिएको छ। विषादीबारे उत्पादन क्षेत्रमानै गएर जनचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन्। बजारमा आएका सबै साग जाँच गर्न नसकिने हुँदा उनी उपभोक्तालाई राम्ररी पखालेर मात्रै उपभोग गर्न आग्रह गर्छन्।  बजारबाट लैजाने बित्तिक्कै पकाउने भन्दा पनि केही समय फ्रिजमा राखेर पकाउँदा विषादीको मात्रा कम हुने उनको भनाइ छ।

 

'रायोको सागमा धेरै रोगकिरा लागेर किसानले विषादी पनि धेरै हाल्दा रहेछन्,' उनले भने, 'किसानलाई पनि वैकल्पिक उपाय सिकाउँछौं। ' केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विशादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन्। यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?