नुवाकोट जिल्लाको ऐतिहासिक पञ्चकन्या, घलेभञ्ज्याङमा ७३ वर्षीय जित बहादुर गलान आफ्नो जीवनको लामो अनुभव र सीपलाई बाँसका चोयामा उनिरहनुभएको छ। उहाँको हातबाट बनेका बलिया र आकर्षक डोकाहरूले गाउँघरको परम्परागत जीवनशैलीलाई आज पनि जीवन्त राखेका छन्।
लगभग १२-१५ वर्षको कलिलो उमेरदेखि नै डोको बुन्न थाल्नुभएका गलान बाजेले यो सीप कसैबाट तालिम लिएर होइन, आफ्नै लगन र अभ्यासले आर्जन गर्नुभएको हो। यो उहाँको जीवनको अभिन्न अंग मात्र होइन, फुर्सदको सदुपयोग र पहिचान पनि बनेको छ। “पहिले घले राजाहरू बस्ने ठाउँ भएकाले यो ठाउँको नाम घलेभञ्ज्याङ रहन गएको हो,” उहाँले विगत सुनाउनुभयो, “अहिले त यहाँ घलेहरू छैनन्।”
एउटा डोको तयार पार्न चोया काट्नेदेखि बुनेर सिध्याउन झण्डै एक दिन लाग्ने उहाँ बताउनुहुन्छ। यसरी दिनभरको मिहिनेतपछि तयार भएको डोको रु. ५०० मा बिक्री हुन्छ। काम गर्दा कहिलेकाहीँ हात काटिने दुःख भए पनि उहाँ आफ्नो काममा सन्तुष्ट देखिनुहुन्छ।
डोको मात्र होइन, गलान बाजे बाँसबाटै बच्चाको कोक्रो (छ्याप्री), अन्न राख्ने भकारी र थुन्से जस्ता घरायसी सामग्रीहरू पनि बनाउनुहुन्छ। उहाँले बनाएका यी सामग्रीहरू स्थानीय बजार बट्टार,छहरे देखि काठमाडौंसम्म पुग्ने गरेका छन्। यसका साथै, उहाँले पाल्नुभएका स्थानीय कुखुराको भाले ३-४ हजार रुपैयाँसम्ममा बिक्री हुँदा थप आयआर्जनमा सघाउ पुगेको छ।
जितद्वार गलान बाजे जस्ता अनुभवी कालिगढहरू आजका पुस्ताका लागि प्रेरणाका स्रोत हुन्, जसले आधुनिकताको प्रभावका बीच पनि मौलिक सीप र संस्कृतिलाई बचाइराख्नुभएको छ। घलेभञ्ज्याङ पुग्ने जो कोहीले उहाँको यो कला प्रत्यक्ष अवलोकन गर्न र स्थानीय उत्पादन खरिद गर्न सक्छन्।
KRISI SUCHANA